लिस्बन, ६ मार्च । पोर्तुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल बिहीबार लिस्बन आइपुगेका छन्, उनले छिट्टै आफ्नो औपचारिक कार्यभार सम्हाल्नेछन् ।
लिस्बन विमानस्थलमा नेपाली दूतावास लिस्बनका नियोग उपप्रमुख रामबाबु नेपाल र पोर्तुगल परराष्ट्र मन्त्रालयका प्रोटोकल विभाग प्रमुख लुइस सान्तुसले राजदूत पौडेललाई स्वागत गरेका थिए ।
दूतावासले औपचारिक रूपमा सेवा सुरु गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको छ । स्वीकृति प्राप्त हुनेबित्तिकै मार्चको तेस्रो सातादेखि कन्सुलर सेवा सुरू हुने अपेक्षा गरिएको छ । दूतावास सञ्चालनका लागि भवन भाडामा लिने प्रक्रिया पनि जारी छ ।
नयाँ भवनको स्थान दक्षिण एसियाली मुलुकहरू भारत, पाकिस्तान, बंगलादेशका दूतावासहरू रहेका क्षेत्र नजिक खोजिनेछ, जसले नेपाली सेवाग्राहीहरूलाई समेत सहज हुनेछ ।
पोर्तुगलमै नेपाली दूतावास स्थापनाको खबरले त्यहाँका नेपाली समुदायमा उत्साह छाएको छ । हालसम्म पोर्तुगलमा रहेका नेपालीहरूले पेरिसस्थित नेपाली दूतावासबाट सेवा लिँदै आएका थिए ।